काठमाडौं । शनिवार साँझ औषधिक्षेत्रमा महारथ हासिल गरेका उद्यमी प्रभूराज वैद्यले एउटा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरे । त्यस कार्यक्रममा स्वास्थ्यका स्थापित पत्रकारहरु सहभागी थिए । सो क्रममा वैद्यले आफ्नो औषधि क्षेत्रप्रतिको लगाव, मेहेनत र आज निर्माण भएको साम्राज्यका बारेमा भन्दै थिए ।
दशकौं लामो अनुभव सुनाउने क्रममा वैद्यले एकजना एमआरको कथा सुनाए । नाम नबताइकन उनले सुनाएको कथाले नेपाली औषधि उत्पादनको अवस्थालाई बताउँछ । कतिपय नेपाली उद्योगहरु औषधि उत्पादनको गुणस्तरमा कुन स्तरमा रहेका छन् भन्ने चित्र पनि वैद्यले सुनाएको किस्साले दर्शाउँछ ।
सिम्का ल्याव्रोटरी नामक औषधि उत्पादन गर्ने संस्था र यतिकेम डिस्टव्यूटर्समार्फत औषधि आयात, भण्डारण र वितरण गर्दै आएका वैद्यले नाम नलिइकन कुनै एउटा कम्पनीमा काम गरिरहेका एमआर आफ्नो कम्पनीमा जागिरको अन्तर्वार्ता दिन आएको घटना सम्झिए ।

सो क्रममा ती व्यक्तिलाई वैद्यले किन पुरानो कम्पनी छाडेको भनेर सोध्दा ती एमआरले दिएको जवाफ रोचकमात्र छैन कतिपय नेपाली कम्पनीले औषधि उत्पादनमा कति लापर्वाही गरेका छन् भन्ने पनि देखाउँछ । ती एमआरले वैद्यलाई आफुले कम्पनी छाड्नुको कारण चिकित्सकको प्रतिक्रिया भएको बताए । ती एमआर आफै बिरामी हुँदा उनलाई हेर्ने चिकित्सक आफै काम गर्ने कम्पनी भनेर त्यही कम्पनीको औषधि नखान सिफारिस गरे । चिकित्सकले आफै काम गर्ने कम्पनीको औषधि नखान सल्लाह दिएपछि झसंग भएका ती एमआरले सोही तोडमा आफैले खान नसक्ने औषधिको प्रबन्धक भएर नबस्ने निर्णय गर्दै सो कम्पनी छाडेर नयाँ कम्पनीमा काम गर्न खोजेको भनेर भनेको किस्सा वैद्यले पत्रकारहरुलाई सुनाए ।
नेपाल सरकार औषधि व्यवस्था विभाग, औषधि प्रयोगशाला लगायत कमजोर हुँदा र औषधि क्षेत्रमा बढेको अस्वस्थ प्रतिस्पर्धाका कारण कतिपय कम्पनीले नाममात्रको औषधि बनाउने र ती कम प्रभावी हुने कुरा कतिपय विज्ञले भन्दै आएका थिए । प्रभु वैद्यले सुनाएको घटनाले पनि यसलाई पुष्टि गरेको छ ।