-सम्झना रेग्मी/फर्माडायरी
काठमाण्डौ, ६ असोज । नेपालमा हाल झण्डै डेढसयवटा औषधि उद्योग दर्ता भइसकेका छन् भने झण्डै सयवटा कम्पनीले औषधि उत्पादन सुरु गरिसकेका छन् ।
कुनै समय यस्तो थियो नेपालमा प्रयोग हुने सबै औषधि विदेशबाट आयात हुन्थ्यो । सरकारको शाही औषधि लिमिटेडले बजारको माग धान्न सक्नै अवस्था नै थिएन । तर, समय परिवर्तन भएर हालसम्म आउँदा नेपाली औषधि कम्पनीले ठूलो फड्को मारेको अवस्था छ ।
नेपालमा रहेको रहेको औषधिको मागको ५५ प्रतिशत औषधि स्वदेशी उद्योगले धानेको अनुमानित आंकडा रहेको छ । कम्पनीहरु वृद्धि भएपनि सबै कम्पनीले उस्तै औषधि बनाउने र त्यसको बजार विस्तार गर्न अस्वस्थ प्रतिस्पर्धा गर्ने गरेको आरोप पनि नेपाली औषधि कम्पनीलाई लाग्ने गरेको छ ।
क्यान्सरजस्ता प्राणघातक रोगका महंगा औषधि नेपालमा बन्न नसकेको अवस्थामा टिजिक फर्माले नेपालमै क्यान्सरको औषधि बनाउने गरि कम्पनीको सुरुवात गरि सञ्चालन गरिरहेको छ ।
बनेपामा उद्योग रहेको टिजिक फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यका अनुसार, नेपालमै पहिलोपटक टिजिक फर्माले नेपालमा क्यान्सरको औषधि पहिलोपटक दर्ता गरेको हो । त्यसपछि औषधि व्यवस्था विभागले औषधिलाई सूचिकृत गरेसँगै नेपालमा क्यान्सर उपचारको स्वदेशी औषधिको उत्पादन सुरु भएको हो ।

उनका अनुसार टिजिक फर्माको स्थापनाको उदेश्य एन्टिक्यान्सर औषधिमा मात्र सिमित हुने लक्ष्य रहेको छ । टिजिकले अन्य कुनै वर्गको औषधि बनाउँदैन । कोलोरेक्टल सोली ट्युमर, रेनलसेल, फोक्सोको क्यासरका औषधि, स्तन क्यान्सरको उपचारमा चाहिने औषधि लगायतका विभिन्न प्रकारका क्यान्सर प्रतिरोधी औषधिको उत्पादन सुरु भएको हो । जुन ट्याब्लेट र क्याप्सुल दुबैमा उपलब्ध छ ।
टिजिक फर्मामा बनेका औषधिमध्ये अहिले जम्मा १९ मलिक्यूल्सका औषधि स्वीकृत भएको छ । भने कुनै निर्यातको प्रयोजनका लागिमात्र निर्माण भइरहेको वैद्यले स्वास्थ्य डायरीलाई बताए । ‘जम्मा २९ वटा मोल्युक्यूल्सबाट औषधि बनाएर सुलभ र गुणस्तरी औषधि बनाएर बजारमा पठाइरहेका छौं । दुईवर्ष यता हामी बजारमा छौं ।’
२०२२ फेब्रुअरीबाट बजारमा औषधि टिजिकका औषधि सबै क्यान्सर सेन्टरमा उपलब्ध भइसकेको वैद्यले बताए । उनका अनुसार भरतपुर क्यान्सर हस्पिटल, सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल, सिभिल हस्पिटल, नेपाल क्यान्सर हस्पिटल, हरिसिद्दि, काठमाण्डौ क्यान्सर सेन्टर, ताथली लगयतका अस्पतालमा उपलब्ध छ । साथै विदेशमा पनि टिजिक फर्माले औषधि निर्यात गरिरहेको वैद्यको भनाइ छ ।
उनी भन्छन्, 'नेपालको औषधिको मागको हिसाबले हेर्दा विभिन्न किसिमका क्यान्सर हुने का थुप्रै औषधि छन् । हामीले सबै क्यान्सरको औषधि उपलब्ध गराउन नसकेको अवस्था छ । यद्यपी अहिले नेपालको बजार अनुसार औषधि पुग्ने अवस्था रहेको छैन । व्यापक रूप लिएको स्तनक्यान्सर, पाठेघरको क्यान्सर लगायत अन्य क्यान्सरको औषधिमा केन्द्रित रहेर फर्माले औषधि उत्पादन गरेको छौं । क्यान्सर रोग दिनानु दिन बढ्दै गएकोले त्यसको माग अनुसार औषधि बनाउने कोशिसमा फर्मा रहेको छ ।'
‘नेपालमा बनेको औषधिमा डाक्टर उत्साहित हुन्छन् । औषधि, हस्पिटल, डाक्टर एकआपसमा परिपूरक हुन्छन् । हस्पिटलमा विभिन्न सुविधा विकास भयो । डाक्टरहरू पनि उपलब्ध हुनुभयो । तर त्यसको तुलनामा औषधिको विकास हुन सकेको थिएन ।’ टिजिक फर्माले हस्पिटल र डाक्टरको माग अनुसारको औषधि उपलब्ध गराउने जमर्को गरेको छ । यसले नेपालमा भएको औषधिको माग पूरा गरि बाहिर पठाउने समेतको लक्ष्य लिएको छ ।
‘अहिले सिनियर डाक्टरले पनि हाम्रो औषधि सिफारिस गरिदिनु भएको छ । कतिले पर्ख र हेर पनि गर्नुभएको छ । हामीले क्यान्सरका गुणस्तरीय औषधि बनाएका छौं । टेक्नोलोजि ट्रान्सफर अन्तर्गत विदेशबाट टेक्नोलोजी ल्याउने पहिलो उद्योगका रुपमा स्थापित भएका छौं । त्यही अनुसार हामीले गुणस्तर नियन्त्रण गरि तेश्रो पक्षको ल्याबबाट समेत परिक्षण गराएर एवं आफ्नो ल्याबबाट पनि परिक्षण गर्ने गरिएको छ ।’ गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरेर, बिरामी तथा डाक्टरलाई सुविधा दिदै आएको वैद्यको जिकिर छ ।
टिजिक फर्माभन्दा अगाडी नेपालमा क्यान्सरको औषधि रजिस्टर भएको थिएन । यसले गर्दा औषधि झोलामा ल्याउने, बिरामी आफैले बोकेर आउनुपर्ने, औषधिको गुणस्तरको बारेमा केहि जानकारी नभई प्रयोग गर्नुपर्ने अवस्था थियो । अहिले टिजिक फर्माले यो समस्याको समाधान गर्ने जमर्को गरेको छ । वैद्य थप्छन् ।
टिजिक फर्मा टेक्नोलोजी ट्रान्सफर र फरेन डाइरेक्ट इन्भेस्मेन्ट गरि एउटा उद्योग बनेको हो । विदेशमा प्रयोग गर्न गाह्रो औषधि नेपालमा सुलभ हिसाबले उपलब्ध गराउने कोसिस टिजिक फर्माले गरेको छ । जसले गर्दा विदेशमा भन्दा नेपालमा सहज र सस्तोमा औषधि उपलब्ध हुने वातावरण सिर्जना भएको छ ।
अहिले देशको माग अनुसार क्याप्सुल र ट्याब्लेटमा औषधि बनाइरहेको शाक्य बताउँछन् । हाम्रो फस्ट फेजको लगानी मुखबाट खाने औषधिमा छ । जसमा धेरै ठुलो क्षमता हुँदैन । यसमा सिकलसेल एनिमिया, ब्लडक्यान्सर, स्तन क्यान्सर, लगायतका औषधि बन्छन् ।
तर, सुईबाट दिइने औषधिहरुको लागि अर्को योजना बनाउनुपर्छ । वैद्यका अनुसार यसको पूर्वाधार लगानी नै महंगो पर्ने भएर यसलाई योजनामा राख्दै बिस्तारै बिकास गर्दै कम्पनी अगाडी बढिरहेको छ । त्यसको लागि पनि फर्माले औषधि व्यवस्था विभागबाट स्वीकृति लिइसकेको छ ।
उनी भन्छन्, ‘रिसर्च एण्ड डेभलप्मेन्टमा प्रत्येक पटक विदेशमा रिसर्च भएर नयाँ प्रविधिहरू आउँछन् । यसले औषधि अझै राम्रो वा गुणस्तरीय हुने सम्भावना बढ्छ । जसका कारण भविष्यमा बन्ने औषधि झन् राम्रा र प्रभावकारी हुन्छन् । नेपालको आवश्यकता र माग अनुसारको औषधि अहिले बन्न सकेको अवस्था छैन । विदेशबाट आउने सबै औषधिलाई रोक्न सकियो भन्नसक्ने अवस्था पनि अहिले छैन । र पनि हामी बिस्तारै अघि बढिरहेका छौं । तर, यो अहिलेको अवस्थामा हेर्ने हो भने सजिलो छैन ।’
कार्यकारी निर्देशक वैद्य थप्छन्, ‘यसमा टिजिक फर्माको मात्र नभएर राज्यसंयन्त्र, अस्पताल, डाक्टर, लगायत सबैको साथ हुनुपर्दछ । एकआपसमा विश्वास हुनुपर्छ । हामीले औषधि जसरी निकाल्छौं, बिरामीले पनि अस्पताल र डाक्टरको उपचारलाई त्यसरी नै विश्वास गरेर अगाडी बढ्दा सजिलो हुन्छ । उपचारका लागि विदेश जाँदा नेपाली रूपैयाँ बाहिर जान्छ ।’ उनका अनुसार नेपालमै क्यान्सरको औषधि निर्माण उपचार र औषधिका लागि बाहिरिने पैसा नेपालमै रोकिन्छ ।
नीतिगतको विषयमा नेपालले सबैभन्दा पहिला आफु के के कुरामा सक्षम हुने भन्ने योजना बनाउनुपर्छ । यो कुरा राज्य आफैले सोच्नुपर्छ । यसमा कुनै व्यक्ति वा उत्पादकले मात्र पहल गरेर हुँदैन । यसमा राज्य आफै सक्रिय भई देशमा सहज रूपमा उद्योग सञ्चालन हुनु हुनुपर्छ भन्ने सोचमा अघि बढ्नुपर्ने वैद्यको सुझाव छ ।
- ‘कतिपय उद्योग नेपालको लगानीले मात्र धान्न सक्ने अवस्था नहुने भन्दै उनले विदेशी लगानीको सदुपयोग र विदेशी प्रविधिको प्रयोग गरेर पनि औषधि उद्योगलाई अगाडी बढाउनु पर्ने बताए । त्यसैले नीतिगत कुरामा विदेशी लगानीलाई पनि समेट्नु पर्छ । हामीले कस्तो नीति बनाउँदा विदेशी लगानीकर्ताहरूले सुरक्षित महसुस गर्छन् भन्ने कुरा बुझ्न जरूरी हुन्छ ।’ उनी भन्छन् ।
वैद्यका अनुसार अहिले पनि हामी नेपालको औषधि नेपालमै प्रयोग गर्नुपर्छ भन्ने कुरा मान्न तयार छैनौं । नेपाली औषधी पनि गुणस्तरीय हुन्छ भन्नेमा विश्वास नगर्ने जमात कम छैन । वैद्यले नेपालको नीतिगत व्यवस्थाको पनि विरोध गरे । नेपालका कुनैपनि नीतिले औषधि आयात गर्ने भनेको छैन । तर, राज्यपनि स्वदेशमै उत्पादन गर्ने औषधिलाई बढावा दिने पक्षमा देखिँदैन । सबै आयातमुखी भएका छन् । नेपालमै बनेका औषधिहरु भने सरकारी टेण्डर खुल्ला भनेर कुर्दाकुदै औषधिको मिति गुज्रिने गरेको अवस्था पनि रहेको उनको अनुभव छ ।
जबसम्म हामीले नीतिगत रूपमा उद्योगको लगानी संरक्षण गर्नुपर्छ भन्ने अवधारणाको विकास गरेर कार्यान्वयन गर्दैनौं तबसम्म देशमा औषधि उद्योगको विकास गर्न कठिन हुने अन्य उद्योगीको जस्तै टिजिक फर्माका कार्यकारी निर्देशक वैद्यको पनि रहेको छ ।
नेपालमै बनेको र कम मूल्यको भन्ने बित्तिक गुणस्तरहिन हुन्छन् भन्ने सोच त्याग्न वैद्यको सुझाव छ । नेपालमै पनि उच्चप्रविधि र योग्य जनशक्तिको प्रयोगमा विश्व स्तरीय औषधि बन्ने गरेको छ भन्ने विश्वास चिकित्सक, बिरामी र आममानिसमा विस्तार र विकास हुन जरुरी रहेको शैलेश वैद्यको धारणा रहेको छ ।